अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुनेदेखिएपछि अर्धवार्षिक समिक्षामार्फत राजस्वको अनुमान संशोधित गरिएको जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरेले राष्ट्रिय अन्तराष्ट्रिय परिवेशका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएको र त्यसको प्रभाव राजस्वमा पनि देखिएको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान गरेकोमा मध्यावधि समीक्षामा राजस्व १२ खर्ब दुई अर्ब मात्रै उठ्ने आँकलन गरिएको उहाले बताउनुभयो । पछिल्लो समय मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको भन्दै राजस्वमा भने त्यसको तुरुन्त असर नपर्ने उहाले बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले राजस्व सङ्कलनलाई वैज्ञानिक र समयसापेक्ष बनाइनुपर्ने, कर छली नियन्त्रण गर्नुपर्ने सुझाव दिएका थिए । समिति सदस्य बिष्णु पौडेलले राजस्व संकलनमा हात उठाएको अवस्था रहेको बताउनुभयो । अहिलेको अवस्थामा सरकारको राजस्वको लक्ष्य पुरा हुन नसक्ने उहाले बताउनुभयो । त्यस्तै समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले एकै बर्षमा अर्थतन्त्रमा देखिएको समस्या समाधान नहुने भएपनि सरकारले सकारत्मक प्रयास गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै समिति सदस्य ज्ञान बहादुर शाहीले कर प्रणालीलाई डिजिटल गर्नुपर्ने, बिलको न्यून मूल्याङ्कनलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

समितिले बजेट घटाउनुपर्ने कारण, राजस्व संकलनको कार्ययोजना लगाएतका बिषयमा अर्थमन्त्रीसंग छलफल गर्ने निर्णय गरेको छ ।