स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा केहि स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताउनुभएको छ ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको आधारभूत स्वास्थ्य सेवाको अधिकार स्थापीत गर्न आफुले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोजेको तर केहि स्थानमा कर्मचारीबाटै अवरोध सिर्जना भएको बताउनुभएको हो ।

पहुँच र भनसुनका भरमा सरुवा हुन नचाहने र आकर्षक स्थानमा बसेको कर्मचारीहरुले मन्त्रालयको कामलाई विरोध गरेको उहाले बताउनुभयो । मन्त्री बस्नेतले शत प्रतिशत राम्रो गर्न खोज्दा नराम्राहरु एकढिक्का हुने गरेको गुनासो गर्नुभयो ।

अस्पतालमा टेन्डरमार्फत सामाग्री खरिद गर्न खोज्दा कर्मचारीहरुले तालाबन्दी नै गर्ने गरेको उहाको भनाइ छ । उहाले आधारभूत स्वास्थ्य सेवा प्रभाव गर्न प्रयाप्त कर्मचारी नभएकाले अस्थायी दरबन्दी सिर्जना गरिएको धारणा राख्नुभयो ।

कार्यक्रममा दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई एकलाख नगद पुरस्कार सहित यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै ४ जना स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । ५० हजार नगद रासी सहितको स्वास्थ्य सेवा पुरस्कार पाउनेहरुमा कालिकोटका सिनियर अहेव दीर्घबहादुर नेपाली, बाराकी सिनियर अनमी किरण कुमारी, सुर्खेतका डा. केशरबहादुर ढकाल र फार्मेसी निरीक्षक शुष्मा थपलिया रहनुभएको छ ।