ललितपुर – साहित्यकार तथा राजनीतिज्ञ सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट्’ पुस्तक लोकार्पण भएको छ ।राणाले नयाँ पुस्तक ‘किङ्डम लस्ट’ मा नेपालको प्रजातन्त्र प्राप्ति गर्ने क्रममा भएका प्रयासबारे उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पुस्तक लोकार्पण सन्दर्भमा लिखित सन्देशमार्फत बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो ।

पुस्तकमा सन् १९५१ देखि २००८ सम्मको राजनीतिक घटनालाई समेटिएको छ । पुस्तकमा मोहन शमशेर राणाको नेतृत्वमा रहेको राणा र कांग्रेसबीचको मिलिजुली सरकारदेखि सन् २००८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेको अवधिसम्मलाई उल्लेख गरिएको छ । राणाले आफ्नो पहिलो पुस्तकमा ‘सिंहदरबार’ मा नेपालमा राणा शासनको सुरुआत र अन्त्यबारे लेखेका थिए ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै लेखक राणाले टोनी मोरिसनको भनाइलाई उद्धृत गर्दै भने, ‘यदि तिमीलाई त्यस्तो पुस्तक बढ्न मन छ र त्यो अहिलेसम्म कसैले पनि लेखेको छैन भने तिमी आफूले लेख्नैपर्छ ।’ राणाले राणाकालको बारेमा जानकार भए पनि पहिलो र दोस्रो दुवै किताब लेख्दा करिब एक सय नेता, साथी र अन्य व्यक्तिहरूसँग कुराकानी गरेको बताए । ‘सन् २००७ बाट थालेको कुराकानी थालिएको थियो भने अन्तिममा स्वर्गीय सत्य मोहन जोशीसँग कुराकानी गरेर टुंगिएको थियो,’ उनले भने ।

पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालमा जनसंस्था स्थापित भएको गणतन्त्र नभएको बताउनुभएको छ ।
उहाँले नेपालबाट राजतन्त्र विस्थापित भएपनि जनसंस्था स्थापित हुन नसकेको बताउनुभएको हो ।पूर्वसभामुख ढुंगानाले नेपालमा केवल राजस्थ बिस्थापित भएको गणतन्त्र मात्र भएको बताउनुभयो । उहाँले गणतन्त्रमा जनताको हीत हुनुपर्ने भएपनि जनसंस्था र जनप्रतिनिधिहरु व्यापारी भन्दापनि मुनाफाखोर भएका बताउनुभयो । अहिले अनुचित लाभ लिनका लागि राजनीति गरिरहेका उहाँको भनाई छ । पूर्वसभामुख ढुंगानाले देश राजसंस्था र जनसंस्था दुवै नभएको संक्रमणकालिन अवस्थामा गुज्रिरहेको बताउनुभयो ।पूर्वसभामुख ढुंगानाले गणतन्त्रमा नक्कली भूटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरण जस्ता घटनाहरु हुनु नहुने बताउनुभयो ।

सांसद रघुजी पन्तले नेपालको राजनीतिक इतिहास जान्न खोज्नेले ‘किङ्डम लस्ट’ र यसअघिको पुस्तक ‘सिंहदरबार’ पुस्तक पढ्नुपर्ने बताए । उनले समग्र नेपालको इतिहास बुझ्नका लागि राणाकालबारे फेरि पढ्नुपर्ने बताए । सांसद पन्तले त्यसबेला राम्रो र नराम्रो दुवै काम भएको उल्लेख गरे । ‘तर यो पुस्तकमा २०४६ सालको पहिलो जनआन्दोलनलाई लेखकले अझ बढी स्थान दिँदा राम्रो हुन्थ्यो,’ उनले भने । उनले पुस्तकमा कांग्रेसको मात्र नभएर कम्युनिस्टतर्फको विषय ल्याउन अझ राम्रो हुने सुझाव दिए ।

बेलायतबाट आएका अर्का टिप्पणीकर्ता इतिहासकार जोन फ्रान्सिस वेलप्टनले लेखक राणामा पुस्तक लेख्नका लागि पर्याप्त क्षमता भएको र पुस्तक तथ्यांकसहित इतिहासको एउटा पाटो भएको बताए । ‘सन् १९५१ देखि शाह बलियो भए । त्यसअघि राणा बलियो थिए । शाह बलियो भएपछि पनि राणा र शाहबीच वैवाहिक सम्बन्ध रहिरह्यो,’ उनले भने ।