बागमती सभ्यताले संरचना जिम्मा लायो महानगरलाई


ललितपुर ः ललितपुर महानगर क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले निर्माण गरेका संरचनाहरु ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगरमा आयोजित कार्यक्रममा उक्त संरचना हस्तान्तरण गरेको हो ।
महानगरको वडा नं.१, २, १० वडाको बागमती किरानाको दुई दशमलव ८ किलोमिटर क्षेत्रफलमा समितिले घाट, सडक, साइकल ट्रयाक, सार्वजनिक शौचालय, पाटी निर्माण गरेको छ ।
संरचना हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा नगरप्रमुखको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र समितिका आयोजना प्रमुख रविन्द्र बोहोराले हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको बागमती करिडोरमा संरचना निर्माण गरेकोमा समितिलाई धन्यवाद दिए । उनले भने, ‘ यो अब हाम्रो बेबी भयो, यसको टेक केयर हामी गर्छौ, संरक्षण गर्छौ । ’ उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरको वडा नं.१, २ , १० को बागमती किनारामा संरचना निर्माण गरेकोमा धन्यवाद दिइन् । हरियाली ललितपुर महानगरको पहिचान भएको बताउँदै उनले भनिन्, ‘ त्यहाँ रहेका केही संरचना अलि भद्दा जस्तो देखिन्छ, तिनको व्यवस्थापन गर्नुपर्छ ।’
एडिबीको सहयोगमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ती संरचना निर्माण गरेको हो ।
एडिबीका राष्ट्रिय निर्देशक आरनउल्ड काच्वाइसले संरचना हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । संरचना निर्माणका लागि बसेको पहिला बैठक स्मरण गर्दै उनले भने, ‘यो परियोजना सम्पन्न भइरहँदाको कुरा सम्झिराखेको छु ’ वातावरण र हरियालीलाई प्राथमिकता दिने नगरप्रमुखसँग सहकार्य गर्न पाएकोमा हर्षित भएको उनले बताए ।
ललितपुर महानगरका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले समितिले बागमती किनारामा निर्माण गरेको हरियाली पार्क लगायतका नदी वरपरका सम्पदाहरुको व्यवस्थापन, संचालन तथा मर्मत सम्भारको जिम्मेवारी अब महानगरले गर्ने बताए ।
कार्यक्रममा आयोजना निर्देशक रविन्द्र बोहोरा, आयोजना उपनिर्देशक विदुर झाको उपस्थिति रहेको थियो ।